
हेलसिन्की/फिनल्याण्डमा अध्ययनरत दुई नेपाली युवाको सक्रियतामा स्थापित सिल्भर लाइनिङ क्रियसनले आफ्नो पहिलो वृत्तचित्र तेस्रो पुस्ता शुक्रबार सार्वजनिक गरेको छ। फिनल्याण्डको राजधानी हेलसिन्कीमा सामाजिक सेवा तथा सामुदायिक विकासको अध्ययन गरिरहेका मनोज भुसाल र उनकै सहपाठी सोम चौलागाईंको निर्माणमा बनेको उक्त वृत्तचित्रको लेखन तथा निर्देशन मनोज भुसालले गरेका हुन्।
करिब चालिस मिनेट लामो वृत्तचित्रमा संयुक्त राष्ट्रसङ्घको काम छाडी युरोप हानिएका एक उन्नाइस वर्षे नेपाली युवाको कथा समेटिएको छ। निर्देशक भुसालका अनुसार वृत्तचित्रमा समेटिएको कथा एक व्यक्तिको मात्र नभई वर्षेनि हजारौँको सङ्ख्यामा विदेशिने सामान्यतया तेस्रो पुस्ता भनेर चिनिने नेपाली युवाहरुको साझा कथा हो।
वृत्तचित्रले संसारका गरीब देशहरुको विकासमा ठूलो योगदान पुर्याउनसक्ने दक्ष युवाहरु विकशित मुलुकको मोहमा परी उतै हराउने प्रवृत्तिले गर्दा गरीब देशहरू कसरी उपेक्षित हुन्छन् भन्ने विषयलाई उठाएको छ।
तेस्रो पुस्ताको प्रदर्शनी हेल्सिन्कीबाट सुरू भई युरोपका अन्य शहरहरूमा समेत गरिने निर्देशक भुसालले बताए । नेपालमा भने यसको प्रदर्शनी सन् २००९ को अन्त्यतिरमात्र गरिने भएको छ।
तेस्रो पुस्ताको प्रदर्शनीबाट सङ्कलन हुने सम्पूर्ण रकम नेपालका दुर्गम गाउँहरूमा पुस्तकालय स्थापना गर्न तथा सरकारी विद्यालयहरूमा कम्प्युटर वितरण गर्ने कार्यमा खर्च गरिने जानकारी भुसालले दिए ।


No comments:
Post a Comment